Pages

Tuesday, November 1, 2016

इटहरीमा गोली चल्यो, दुई घाइते

दीपावलीको रमझम चलिरहेको बेला सुनसरकिो इटहरी उपमहानगरपालिका–२४ तरहराचोकमा आज बिहान गोली चल्दा दुई युवक घाइते भएका छन् ।

तरहराचोकस्थित भोजपुरे होटलमा बिहान ४ बजे संखुवासभाको खाँदबारी बस्ने रवीन्द्र थापाले गोली चलाउँदा होटल सञ्चालक गंगामान राई र धनकुटाको चानुवा बस्ने तोर्ण पौडेल घाइते भएका हुन् ।

घाइते राई र पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा धरानमा उपचार भइरहेको छ ।घटनास्थलबाट चारवटा गोलीको खोकासमेत प्रहरीले बरामद गरेको छ ।

रातभर जुवा, तास खेल्ने क्रममा विवाद भएपछि गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार होटल सञ्चालक राईको छातीमा दुइ र पेटमा गरी तीन ठाउँ गोली लागेको छ । घाइते पौडेलेका दाहिने हातको पाखुरामा र दाहिने खुट्टामा तीन गोली लागेको छ ।

गोली चलाउने थापा फरार रहेका छन् । उनी गत सोमबार होटलमा बस्न आएका थिए । घाइते तोर्ण पौडेल एक महिनादेखि सोही होटलमा बस्दै आएका थिए । घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् । फरार थापाको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

No comments:

Post a Comment