Pages

Saturday, December 9, 2017

प्रतक्षतर्फ बाम-गठबन्धन दुईतिहाई नजिक

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा ८२ प्रतिनिधिसभा र १०३ प्रदेशसभाको नतिजा प्राप्त भएको छ। आइतबार बिहान ८ बजेसम्म मा प्राप्त विवरणअनुसार एमालेले प्रतिनिधिसभामा ४९ र प्रदेशसभामा ५४ सिट जितेर पहिलो दल बनेको छ। यस्तै एमालेसँग गठबन्धन गरी चुनाव लडेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ३२ सिट जितेको छ। एमाले माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रतिनिधिसभामा हालसम्म ६६ सिट जितेका छन्।





चुनावमा देशभर धक्का बेहोरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा ९ सिटमात्र जितेको छ भने प्रदेशसभामा ११ सिट जितेको छ। प्रतिनिधिसभामा ८३ सिटको नतिजा आउन बाँकी रहँदा कांग्रेसले १५ निर्वाचन क्षेत्रमा मात्र अग्रता कायम गरेको छ।
कांग्रेसले अग्रता कायम गरेका क्षेत्रमा चुनाव जितेमा पनि प्रत्यक्षतर्फको नतिजामा कांग्रेस २५ सिटमा सीमित हुने देखिएको छ। जबकि एमालेले अहिले ३० सिटमा अग्रता कायम गरेको छ भने माओवादी केन्द्रले १८ सिटमा अग्रता कायम गरेको छ। एमालेले अग्रता कायम गरेका सिटमा जित हात पारेमा प्रत्यक्षतर्फ उसको ८० सिट पुग्ने देखिएको छ भने माओवादीले अग्रता कायम गरेका क्षेत्रमा जित हात पारेमा प्रत्यक्षतर्फ सिट संख्या ३५ पुर्‍याउने देखिएको छ।  
एमाले र माओवादीले अग्रता कायम गरेका क्षेत्रमा समेत जित हात पारेमा प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउने देखिएको छ। १६५ सिटको दुई तिहाइ ११० हुन्छ। एमाले र माओवादी केन्द्रले जितेका र अग्रता कायम गरेका सिटको संख्या ११४ छ। कतिपय क्षेत्रमा तीब्र प्रतिस्पर्धा भइरहेकाले केही सिट यताउता हुने सम्भावना भने सकिएको छैन।
प्रदेशसभामा एमालेले ७७, माओवादी केन्द्रले ३५ र कांग्रेसले ३५ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्।
संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने ७ क्षेत्रमा अग्रता लिइरहेको छ। राजपाले ३ निर्वाचन क्षेत्र जितेर ७ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ। यी दुबै दल प्रतिनिधिसभामा ९/१० सिटमा सीमित हुने देखिएको छ। संघीय समाजवादीले प्रदेशसभामा ३ सिट जितेको छ भने १४ सिटमा अग्रता लिइरहेको छ भने राजपाले एक सिट जितेर ६ सिटमा मात्र अग्रता लिएको छ।


नयाँ शक्ति पार्टीले गोरखा २ मामात्र प्रतिनिधिसभाको सिट जितेको छ भने गोरखा र रसुवा गरी दुई प्रदेशसभामा जित हात पारेको छ। राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाले प्रतिनिधिसभामा एक/एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्। राष्ट्रिय जनमोर्चाले प्रदेशसभामा बाग्लुङमा एक सिट जितेको छ भने नेमकिपाले भक्तपुरमा प्रदेशसभातर्फ एक सिटमा अग्रता कायम गरेको छ।
स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले हुम्लामा प्रतिनिधिसभा जितेका छन्। प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार राजीव गुरुङले मनाङ खबाट र नारायणबहादुर मगरले उदयपुर २ क बाट चुनाव जितेका छन्।



कुन कुन क्षेत्रको बाँकी?
प्रदेश नम्बर ४ को स्याङजाका दुबै निर्वाचन क्षेत्रमा दलीय विवादका कारण मतगणना सुरु हुन सकेको छैन। यस्तै प्रदेश नम्बर ५ को अर्घाखाँचीमा मंसिर २१ गते रोकिएको एउटा मतदान केन्द्रको चुनाव शनिबार भएको छ। चुनावका दिन मतपेटिका तोडफोड भएपछि मथुरा आधारभूत विद्यालय मतदान केन्द्रमा चुनाव रोकिएको थियो।
निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतगणना थालेको छ। प्रतिनिधिसभामा १६५ प्रत्यक्षतर्फ र समानुपातिकमा दलहरूले पाएको मतका आधारमा ११० सिट गरी २६५ सिट हुन्छन् भने प्रदेशतर्फ सातै प्रदेशमा गरी प्रत्यक्षमा ३३० र समानुपातिकमा २२० सिट गरी ५५० सिट हुन्छन्।

No comments:

Post a Comment