अध्यागमन विभागले सोमबारबाट ‘नेपाल इमिग्रेसन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । यससँगै संसारभरका मानिसले नेपालको भिसा, ट्रेकिङ परमिटजस्ता सुविधा मोबाइलको माध्यमबाटै प्राप्त गर्न सक्नेछन् । गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल इमिग्रेसन एप्स सार्वजनिक गरे ।
एक साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि मोबाइल एप्स सञ्चालनमा ल्याएको थियो । सो एप्समा त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान–अवतरणलगायतका जानकारी पाइन्छ ।
मोबाइल एप्लिकेसनका माध्यमबाट अध्यागमनको सेवालाई व्यावसायिक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने मन्त्री शर्माको भनाइ छ । विभागका महानिर्देशक गंगाराम गेलालले एप्सका माध्यमबाट सेवाग्राहीलाई सेवाप्राप्तिमा सहजता हुने बताए । आगामी दिनमा पनि प्रविधिका नवीनतम उपकरण थप गर्दै जाने उनको प्रतिबद्धता छ । यी दुवै (विमानस्थल र अध्यागमन) एप्स वाइफाई, थ्रिजी, फोरजी र डाटा प्लान सुविधायुक्त स्मार्ट फोनमा चल्छन् ।
‘नेपाल इमिग्रेसन एप्स’मा के–के सुविधा ?
– सबै प्रकारका भिसा (पर्यटन, कूटनीतिक, अफिसियल, अध्ययन, व्यापारिक, आवासीय, ट्रान्जिट, एनआरएन, रिलेसन, वर्किङ, डिपेन्डेन्ट, वैवाहिक) र ट्रेकिङ परमिटको पदयात्रा परिमिटको अनलाइन एप्लिकेसन
– हटलाइन नम्बर, महत्वपूर्ण नम्बर र सम्पर्क ठेगानाहरू
– विदेश जाने–फर्कने नेपाली र नेपाल आउने–जाने विदेशी नागरिकका लागि महत्वपूर्ण सूचना–जानकारी
– विभागको सेवाबारे जानकारी, नीति–नियमहरू
– भिसाप्राप्ति, भिसाशुल्क, अनअराइभल भिसा प्रक्रियाबारे जानकारी
– तथ्य–तथ्यांकहरू
– नेपाल प्रवेशबिन्दु र सम्पर्क ठेगाना
विमानस्थलबारे जानकारी पनि मोबाइल एप्सबाटै
त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान–अवतरणको जानकारी पनि मोबाइल एप्समा उपलब्ध हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले गत साता विमानस्थलको मोबाइल एप्स ‘टिआइए मोबाइल) सार्वजनिक गरेका थिए । एप्समा आन्तरिक तथा बाह्य उडान–अवतरण, पछिल्लो अपडेट, विमानस्थलमा उपलब्ध हुने सेवा, नक्सा, विमानस्थलभित्र सञ्चालित विभिन्न विभागका महत्वपूर्ण नम्बरजस्ता जानकारी समेटिएको छ ।
No comments:
Post a Comment