Wednesday, January 18, 2017

रोजगारीमा जाने कामदारहरूलाई दलालसँगको मिलेमतोमा कर्मचारीले श्रम स्विकृति दिएको पुष्टि


काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई दलालसँगको मिलेमतोमा विभागका कर्मचारीहरूले मोटो रकम असुल्दै विना कागजात श्रम स्वीकृति दिएको पुष्टि भएको छ । वैदेशिक रोजगार विभाग श्रमग्राम काठमाडौं कार्यालयका सात जना कर्मचारीले सेटिङको आधारमा लापरबाही रूपमा श्रम स्वीकृति दिएको श्रम स्वीकृति बारे छानविन गर्न बनेको समितिले पुष्टि गगरेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौं कार्यालय ताहचलका कर्मचारीले गल्ती गरेको पुष्टि गर्दै समितिले सोमबार प्रतिवेदन बुझाएसँगै विगतमा झैँ यसपटक पनि कर्मचारीको कर्तुत पर्दाफास भएको हो । विभिन्न मुलुक गएर रोजगारी गरी फर्केका कामदारलाई पुनः रोजगारीमा विदेश जान दिइने रिइन्ट्रीको श्रम स्वीकृति कहिल्यै पनि विदेश नगएका कामदारहरूलाई दिएको भन्दै उजुरी परेपछि सो समिति बनेको थियो ।

समितिले ताहचल कार्यालयका शाखा अधिकृत हरिप्रसाद देवकोटा, डिकप्रसाद दाहाल, निर्वाणकुमार भट्टराई, मोहन कुमार थापा र इन्द्रबहादुर शाखकर्मीले लापरबाही गरेको ठहर गरेको हो । यस्तै कम्पयुटर अपरेटर वेदनाथ खतिवडा र केशवराज ढुंगानाको समेत संलग्नता देखिएको छ ।  उनीहरूलाई यसअघि नै मन्त्रालय झिकाएर छानविन थालेको थियो ।

उनीहरूलाई विभागीय कारबाही गरिने मन्त्रालय श्रोतले जनाएको छ ।  अध्यागमन विभागले रोकेका महिला पहिलो पटक विदेश जान लागेको पुष्टि भएपनि विभागले पुनः श्रमस्वीकृतिको स्टीकर लगाइदिएको समितिले जनाएको छ । छानविन समितिले लापरबाही गर्ने सात जना कर्मचारीलाई कारबाही गर्न समेत सुझाव दिएको छ ।

कुनै पनि कागजातमा उनीहरू यस अघि विदेश गएको नपाइएपनि कर्मचारीले लापरबाही गर्नु ठूलो गल्ती भएकाले कारबाही गर्नै पर्ने छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।  सरकारले महिलालाई घरेलु कामदारका रूपमा पठाउन रोक लगाएका देशमा पनि विभागकै कर्मचारीको मिलेमतोमा गएको पुष्टि भएको हो ।

लापरबाही गर्ने सात कर्मचारीले भने सेवा ग्राहीको चापका कारण त्रुटी भएको छानविन समितिलाई स्पष्टिकरण दिएको समितिका संयोजक तथा श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिए ।  दुई हप्ताअघि पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका महिलालाई पुनः श्रमस्वीकृति दिएको भन्दै अध्यागमन विभागले छानविन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई पत्रचार गरेको थियो ।

श्रम तथा रोजगार मन्त्रालयले सूचना अधिकारी श्यामराज अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो ।

प्रभाव राष्ट्रिय दैनिक बाट साभार ।

    

No comments:

Post a Comment