हालै मार्क जुकरवर्गले फेसबुकलाई अबको टेलिभिजन बनाउन चाहेको खुलासा गरेका छन् । फेसबुकको अहिलेसम्मको भिडियो यात्रा र उद्देश्य के छन् त ?
गत वर्ष फेसबुकले प्रयोगकर्तालाई लाइभ भिडियोका लागि प्रोत्साहित गर्यो । यत्तिले मात्रै फेसबुकको काम सकिनेवाला थिएन, उसले ठूला सेलिब्रिटी र मिडिया कम्पनीहरूलाई फेसबुकमा भिडियो लाइभ गर्नको लागि पैसासमेत दियो । त्यसको नतिजा अहिले प्रयोगकर्ताले अनुभव गरिरहेका छन्– न्युजफिडमा भिडियो कन्टेन्टको दबदबा । फेसबुक न्युजफिड स्क्रोल गर्दा अधिकांश ठूला मिडिया कम्पनीले कुनै न कुनै इभेन्टको लाइभ गरिरहेका हुन्छन् भने प्रयोगकर्ताले प्रशस्तै भिडियो अपलोड गरिरहेका हुन्छन् । न्युजफिडमा बिना आवाज अटो प्ले हुने यस्ता भिडियोको भ्यू धेरै देखिन थालेपछि भिडियो अपलोड गर्नेहरू पनि उत्साहित हुने नै भए ।
अघिल्लो साता फेसबुकले आफ्नो उद्देश्य टेलिभिजन बन्ने रहेको प्रस्ट्याएको छ । २०१६ को चौमासिक आम्दानी सार्वजनिक गर्ने क्रममा फेसबुकका मालिक मार्क जुकरवर्गले अधिकांश समय के फेसबुकको उद्देश्य टेलिभिजनको विकल्प बन्ने हो ? भन्ने खालको प्रश्नको सामना गरे । यस्तै प्रश्नको जवाफमा जुकरवर्गले फेसबुकको उद्देश्य टिभीको विकल्प नभई टीभी नै बन्ने आशयको उत्तर दिए ।
उनको अनुसार, फेसबुकले अहिले छोटो–छोटो भिडियोमा ध्यान केन्द्रित गरे पनि भविष्यमा उनी लामो लामो भिडियो फेसबुकमा आओस् भन्ने चाहन्छन् । वास्तवमा उनी प्रयोगकर्तालाई फेसबुकमा भिडियो हेर्ने बानी पार्न चाहन्छन् । ‘मलाई अहिले फेसबुकमा भिडियो हेर्ने बानी परिसक्यो,’ उनले भने, ‘मेरो चाहना छ मानिसहरू आफूलाई मन परेको भिडियो हेर्न फेसबुकमा आउन र आफूलाई मन पर्ने खालको भिडियो राख्ने ठाउँमा गएर खोजून् ।’
उनको भनाइको आशय थियो टेलिभिजनमा मनपर्ने कार्यक्रम हेरेजस्तै फेसबुकमा पनि प्रयोगकर्ताले आफूलाई मनपर्ने भिडियो हेरुन्, त्यो पनि आफूलाई मनपर्ने स्रोतबाट । यसैको लागि फेसबुक टीभीको जस्तै टेलिभिजन कार्यक्रम फेसबुकबाटै प्रसारण गर्ने तयारीमा छ र यसको लागि उसले निर्माताहरूसँग कुरा गरिरहेको छ ।
योबाहेक फेसबुकले यो पनि भनेको छ कि ऊ आफ्ना भिडियो निर्माताहरूका लागि बिजनेस मोडलको खोजीमा छ अर्थात् फेसबुकमा भिडियो हाल्नेहरूको आम्दानी बढाउने उसको ध्याउन्न छ । यसका लागि उसले भिडियोको बीचमा विज्ञापन राख्ने गरी परीक्षण सुरु गरिसकेको छ । यसअघि नै फेसबुकले प्रायोजित भिडियोहरू राख्ने अनुमति दिइसकेको छ । जस्तो– कसैले एउटा कार्यक्रमका लागि अन्य प्रायोजकबाट पैसा लिएको छ भने पनि केही फरक नपर्ने । धेरै भिडियो हाल्न सक्ने ठूला कम्पनीको आम्दानी बढाउने र उनीहरूलाई फेसबुकमा भिडियो योगदान गर्न प्रोत्साहित गर्न कम्पनीले यसो गरेको थियो ।
ठूला स्क्रिनको स्मार्टफोन, इन्टरनेटको व्यापकता र स्पिड डाटाको सुविधा, स्मार्टफोनको राम्रा क्यामेरा र छोटो भिडियोमा प्रयोगकर्ताको रुचीको कारण अहिले भिडियो ट्रेन्ड बढेको फेसबुकको बुझाइछ । गत वर्ष यही महिनाको तथ्यांकअनुसार फेसबुकमा दैनिक एक सय मिलिन घण्टा बराबरको भिडियो हेरिन्थ्यो ।
प्रभावशाली मिडिया र सेलिब्रेटीलाई पैसा दिएर भिडियोमा केन्द्रित गराउने फेसबुकको योजना यूट्युबको ५ वर्षअघिको योजनासँग मेल खान्छ जुन बेला यूट्युवले धेरै कम्पनीहरूलाई पैसा दिएरै आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न प्रोत्साहित गरेको थियो र त्यसमा रहेको विज्ञापनको आम्दानी आधा–आधा भाग लगाउन सुरु गरेको थियो ।
भिडियोमा विज्ञापन राख्ने फेसबुकको योजना भने यूट्युबको भन्दा भिन्न छ । अहिले प्रयोगकर्ताले कम्तीमा ३ सेकेन्ड हेरेको भिडियोलाई भ्यूका रूपमा गणना गरिन्छ । फेसबुकको योजनाअनुसार फेसबुकमा भिडियो राखेर विज्ञापनबाट आम्दानी गर्न चाहनेले कम्तीमा २० सेकेन्ट प्रयोगकर्तालाई अल्झाई राख्नुपर्ने हुन्छ किनकि २० सेकेन्ड भिडियो प्ले भएपछि मात्रै विज्ञापन देखाउन मिल्नेछ । यसको अर्थ हो फेसबुक आफ्नो न्यूजफिडमा त्यस्तो भिडियो चाहन्छ जसले प्रयोगकर्तालाई केहीबेर भए पनि बाँधिराखोस् र उत्सुकता जगाइरहोस् ।
आफ्नो प्लेटफर्ममा भिडियो राख्नेलाई पैसा दिने, विज्ञापनबापतको पैसा बाँडफाँड गर्ने र प्रयोगकर्ताले आफूले चाहेको जति भिडियो फेसबुकमै र मनपर्ने स्रोतबाटै हेर्न सकून् भन्ने उसको उद्देश्यले उसलाई लगभग टेलिभिजनकै फम्र्याटमा ल्याइपुर्याएको छ । र, उसको यो उद्देश्य असफल होला भन्ने सम्भावना पनि निकै कम छ किनकि उसले अहिले नै टेलिभिजनभन्दा बढी भिडियो क्लिप र दर्शक पाइरहेकै छ ।
–एजेन्सीहरूको सहयोगमा
No comments:
Post a Comment