Wednesday, March 8, 2017

ईटहरीमा बर्ड फ्लु भेटियो

इटहरीः सुनसरीको इटहरीस्थित पर्यटकीय क्षेत्र तालतलैयामा रहेको पशुपंक्षी संरक्षण केन्द्रका पंक्षीमा बर्ड फ्लु भेटिएको छ । पंक्षीहरु भकाभक मर्न थालेपछि बर्ड फ्लुको आशंकामा गराइएको परिक्षणमा मृत पंक्षीमा एच फाइभ एन वन जीवाणु भेटिएको हो ।

तालतलैयाको केही भाग घेरेर बनाइएको पशुपंक्षी संरक्षण केन्द्रमा राखिएका पंक्षीहरु एकपछि अर्को गर्दै मर्न थालेपछि उच्च सतर्कता अपनाइएको थियो । मृत पंक्षीको शरीरलाई क्षेत्रीय र राष्ट्रिय प्रयोगशालामा गराइएको परिक्षणमा बर्ड फ्लु प्रमाणित भएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिव नारायण महतोले बताए ।

‘विराटनगरस्थित प्रयोगशालामा १९ गते र काठमाडौमा २३ गते प्रमाणित भयो,' महतोले भने, ‘त्यसपछि हामीले १९ गतेबाटै बन्द गरेर मानिसको आवतजावत रोकेका थियौं ।' उनका अनुसार तालतलैयाभित्र चरा राखिएको क्षेत्र अहिले बन्द गरिएको छ । जंगली पशुपंक्षीसँगै उक्त क्षेत्रमा बाल उद्यान समेत रहेकोमा अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।

पालेर राखिएका चराहरुमध्ये गत फागुन १३ गते पहिलो पटक गिनि पिग मरेको र त्यसयता दुई दर्जन बढी पंक्षीहरु मरिसकेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए । ‘गिनी पिग तीन वटा, एउटा मयुर, तीन वटा टर्की र चार वटा उल्लु मरे,' राईले भने, ‘झण्डै एक दर्जन हाँससमेत मरे । जिल्ला पशु सेवा कार्यालय सुनसरीसँग १९ वटा पंक्षी मरेको रेकर्डसँग छ ।

त्यहाँ राखिएका मयुर, टर्की, गिनि पीग र उल्लु भएजति सबै सकिएका छन् भने गिद्ध, हुचिल लगायतका केही चरा मात्र बाँकी छन् । चराहरुमा बर्ड फ्लु कसरी सर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको राईले बताए ।
मिनि जुभित्र रहेका मासु खाने पशु तथा पंक्षिहरुको लागि दैनिक साढे तीन किलो कुखुराको मासु खुवाउने गरिएको राई बताउँछन् । त्यसबाहेक धानलगायतका अन्न पनि खुवाइने गरिएको थियो । मासु बेच्ने बिक्रेतासँग पनि अनुसन्धान थालेको पशुसेवा कार्यालयका प्रमुख महतोले बताए ।

‘जंगलका छेउमा जंगली पंक्षी मरेको भेटिएकोले मासुबाट सर्‍यो वा जंगली पंक्षीबाटै सर्यो भन्ने विषयमा खोजि गरीरहेका छौं,' महतोले भने, ‘पोखरीमा आउने जंगली हाँसबाट समेत सरेको हुनसक्छ ।' उनले जंगलभित्रको कुरा पशु सेवा कार्यालयलाई अधिकार नहुने बताउँदै वन कार्यालयसँग समन्वय गरेर सल्लाह भने दिने गरेको उनले बताए । वन क्षेत्र नजिक रहेको तालतलैया क्षेत्रमा बर्ड फ्लु भेटिएपछि वनमा रहेका अन्य जंगली पंक्षीमासमेत बर्ड फ्लु सर्न सक्ने सम्भावना रहेको उनले बताए ।

बर्ड फ्लु भेटिएको बारेमा जिल्ला प्रमुखहरुबिच समेत छलफल भइसकेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख गोपाल पराजुलीले तालतलैया क्षेत्र प्रवेश निषेध गरिएको जानकारी दिए । ‘समस्या समाधान नभएसम्म तालतलैया क्षेत्रभरी नै मानिसको प्रवेश प्रतिबन्ध लगाउने निर्णय हिजो गरेका छौं,' उनले भने ।

जिल्ला प्रशासन कार्यालयले तालतलैया क्षेत्रभित्रै प्रवेश निषेध भनेपनि तालतलैया विकास समितिले भने तालतलैयाभित्रको चिल्ड्रेन पार्क र मिनि जुभित्र मात्र प्रवेश निषेध गरिएको बताए । ‘त्यहाँ चाहिँ सरसफाइ गर्न बुट लगाएका र सरसफाइ गर्ने कामदार प्रवेश गर्छन्,' तालतलैयाको बाँकी क्षेत्रमा दर्शकलाई पस्न दिइएको बताउँदै राईले भने, ‘प्रभावित क्षेत्रमा भने अहिले दैनिक सफाइ गर्ने, खोप हान्ने लगायतका काम भइरहेका छन् ।'

पशुपंक्षीलाई मात्र मासिक ७० हजार रुपैया बढी खर्च खुराकमै हुने गरेको उक्त संरक्षण केन्द्रमा रहेका जनावर हेर्न र चिल्ड्रेन पार्कमा रमाउन सयौं बालबालिका आउने गरेका छन् । केही महिनाअघि गरिएको अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालाका क्रममा देशी विदेशी कलाकारले बनाएका मूर्ती कला हेर्नकै लागि उक्त क्षेत्रमा अफ सिजनमा पनि पनि दैनिक दुई सय बढी मानिस पुग्छन् । साथै नेपाल तथा भारतका विभिन्न विद्यालयहरुबाट सयौंको संख्यामा बालबालिका र पर्यटकहरु घुम्न आइपुग्छन् ।

बर्ड फ्लुको कारण आउने पर्यटकहरुको संख्यामा असर पुग्ने चिन्ता तालतलैया समितिलाई छ । तर समस्या चाँडै समाधान हुने अध्यक्ष राई बताउँछन् । ‘हामीले सबै किसिमका सावधानी र सुरक्षा अपनाएका छौं,' उनले भने, ‘नयाँ पंक्षीहरु ल्याउने प्रक्रियामा पनि अघि बढीसकेका छौं ।'

बाँचेकालाई के गर्ने

पंक्षीहरु मरेसँगै बचेका पंक्षीहरुलाई के गर्ने भन्ने झन् ठूलो समस्या उत्पन्न भएको छ । ‘वनको कानुनले जंगली पंक्षीलाई डिस्पोज गर्न नमिल्ने रहेछ,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘बचेका पंक्षीलाई पनि बर्ड फ्लु सरिसकेको हुनसक्छ, तर साइटिस लगायतका कानुनले जंगली पंक्षी मार्न दिँदैन ।'

तर यता जिल्ला वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले भने केही दिनमा पंक्षीहरु नमरे मार्नुपर्ने हुनसक्ने बताए । ‘गिद्ध, सेतो चिल अहिलेसम्म बाँचिरहेका छन्, तर पंक्षीहरु बाँचे भनेर खुसी हुने अवस्था छैन,' उनले भने, ‘ती पंक्षीमा पनि जीवाणु हुनसक्छन् ।' बँचेका पंक्षीहरुको निगरानी गरिरहेको उनले बताए । उनले घरपालुवा पंक्षीलाई बर्ड फ्लु लागेमा गर्ने उपचार नै जंगली पंक्षीको लागि गरिरहेको बताए ।
जंगली जनावर पाल्न पाउने कानुन छैने

नेपालको कानुनले जंगली पशुपंक्षी पक्रेर राख्ने अनुमती दिदैन । काठमाडौमा रहेको चिडियाखानाबाहेकलाई उक्त अधिकार छैन । तर पूर्वका विभिन्न सिमसार क्षेत्र तथा पर्यटकीय क्षेत्रमा पर्यटक आकर्षणको लागि जंगली पशुपंक्षीहरु खोरमा थुनेर मिनि जु बनाएर राख्ने गरिएको छ । तालतलैयामा पनि संरक्षण क्षेत्रको नाम दिएर जंगली पशुपंक्षी राख्ने गरिएको छ ।

जिल्ला वन कार्यालय सुनसरीका प्रमुख निरौला भने जंगली पंक्षीहरुलाई पक्रेर नराखिएको तर उनीहरुको संरक्षण गरिएको बताउँछन् । उनले यस विषयमा वन मन्त्रालयले नयाँ नियमावली बनाउँदै गरेको समेत जानकारी दिए । ‘बालबालिकाले किताबमा मात्र देख्ने पशुपंक्षीलाई कम्तिमा देखाएर पढाउन पाइएको छ,' उनले भने, ‘यति हेर्न पहिला काठमाडौ पुग्नुपथ्र्यो, त्यसैले केही नरम भएको हो ।'
तालतलैया क्षेत्रमा पहिले रहेका टर्की र तालतलैया प्रवेश गेटको फोटो छ ।

No comments:

Post a Comment