३३ किलो सुन तस्करीमा फेसबुक ‘म्यासेन्जर’को प्रयोग
पत्रकार सम्मेलनमा ३३ किलो सुन तस्करीको तथ्यबारे जानकारी दिँदै केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवाल । तस्बिरः सरोज बैजु
काठमाडौं : लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन नेपाल कसरी भित्रियो भन्ने तथ्य सार्वजनिक गरेको छ।
ब्युरोले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करीको तथ्य सार्वजनिक गरेको हो। प्रहरीका अनुसार ३३ किलो सुन प्याकिङ र नेपालसम्म ल्याउने व्यवस्थापनका लागि पाँच व्यक्ति सक्रिय थिए। प्रहरी अनुसन्धाबाट सार्वजनिक भएको तथ्य अनुसार विदेशबाट सुन ल्याउनेले लगेजको फोटो फेसबुकको म्यासेन्जरबाट नेपालमा पठाउने गरेको देखिएको छ।
पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले सुन तस्करीमा फेसबुक म्यासेन्जरबाट फोटो पठाउने गरेको तथ्य भेटिएको जानकारी दिए।
सुन बोकेर ल्याउने र लगेजको फोटो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् नेपालमा सुन रिसिभ गर्ने व्यक्तिलाई पठाउने गरेको र उक्त फोटो भन्सारका कर्मचारीसम्म फेसबुक म्यासेन्जर मार्फत नै पठाउने गरेको तथ्य समेत सार्वजनिक भएको छ।
सुन तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो। दुई महिना लामो अनुसन्धानपछि ब्युरोले आइतबार सुन तस्करीको तथ्य सार्वजनिक गरेको हो। सुन तस्करीको मुद्दा अब अदालती प्रक्रियामा प्रवेश गर्ने छ।

No comments:
Post a Comment